आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

काठमाडौँ  - आज गुरु पूर्णिमा, व्यास जयन्ती पनि आजै, कोरोनाका कारण सार्वजनिक कार्यक्रम नहुने, मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिँदै । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन । तर, यसवर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएपनि मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ । यसैबीच, व्यास जयन्ती पनि आजै मनाइदैछ ।

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।