कोरोना संक्रमणको अन्त्यपछि आर्थिक क्रान्ति

कोरोना संक्रमणको अन्त्यपछि आर्थिक क्रान्ति

गतवर्ष डिसेम्बरको अन्त्यदेखि चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को महामारीका कारण हाल संसारभर हाहाकार मच्चिरहेको छ । कैयौँ देशले यससँग लड्न सम्पूर्ण स्वास्थ्य सुरक्षाको तयारी गरे पनि विभिन्न देशमा लाखौँ मानिसको ज्यान गइसकेको छ भने करोडौँ मानिस यो रोगको चपेटामा परेका छन् । वैज्ञानिकहरू यो रोगको खोप तथा औषधि पत्ता लागाउन अहोरात्र खटिरहेका छन् । आशा गरौँ यो रोगको औषधि जतिसक्दो चाँडो  पत्ता लागोस् । यो महामारीबाट संसारभरका मानिसले राहत पाऊँ ।

इतिहासको विभिन्न कालखण्डामा महामारीको रूपमा विश्वभर फैलिएको यस प्रकृतिका रोग प्लेग, ब्याल्क डेथका साथै कोलेरा, मेनिनजाइटिस, पोलियो, स्पेनिस फ्ल्यू, इबोला, विफर, दादुरा, क्षयरोग, हैजा, इन्फ्ल्युन्जा, सार्स, जिका भाइरस डिजिज, स्मलपोक्स, एचआईभी एड्सका कारण करोडौँ मानिसले ज्यान गुमाउनु परेको छ । मानव जातिका लागि यस्तो रोग कहालीलाग्दो प्रकृतिको भए पनि यस्तो महामारीपश्चात् धरै देशमा ठूलो आर्थिक परिवर्तन, मानिसहरूको जीवनस्तरमा आमूल परिवर्तन भएको देखिन्छ । संसारको इतिहास हेर्ने हो भने यी सबै देश यस्तो प्रकृतिको महामारीको चपेटामा परेको देखिन्छ ।

यस्तो महामारीपश्चात् विभिन्न देशमा कस्तो विकास एवं परिवर्तन भयो इतिहासलाई नियाल्ने प्रयास मात्र गरिएको हो । यस्तो प्रकृतिको महामारी भन्दा पहिलेको र अहिलेको विकसित देशहरूको खानपान, जीवनस्तर तथा विकासलाई हेर्ने हो भने यी देशहरूको महामारी पहिलेको जीवनस्तर धेरै नाजुक एवं खराब रहेको देखिन्छ । यस्तो महामारीपश्चात् विभिन्न देशमा मानव जीवनको आमूल परिवर्तन एवं विकास भएको देखिन्छ ।

स्रोतको अनुसार मानव इतिहासमा डरलाग्दो महामारीको रूपमा संसारभर सन् १३४६ देखि १३५३ सम्म प्लेग(ब्ल्याक डेथ) रोग फैलिएको थियो । यसका कारण लगभग पच्चीस मिलियनदेखि २०० मिलियन मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् १९१८ देखि १९२० सम्म संसारभर स्पेनिस फ्ल्यू फैलिएको थियो । यो रोगबाट लगभग १७ मिलियनदेखि ५० मिलियन मानिसको ज्यान गएको थियो ।

१५ शताब्दीको अन्ततिर अमेरिकामा विफर दादुरा ठेउला जस्तो महामारीको एवं जलवायु परिवर्तनको कारण धैरे मानिसहरूले ज्यान गुमाउनु परेको थियो । त्यतिवेला यो रोग अमेरिकामा ठूलो महामारीको रूपमा फैलिएको थियो र यसले ठूलो तहल्का मच्चाएको थियो । लाखौं मानिसले ज्यान गुमाउनु परेको थियो । तर आज यो दादुरा, ठेउला रोग एक बिरामी जस्तै हो, जुन औषधि खाएपश्चात् निको हुन्छ ।

स्रोतका अनुसार यो महामारीको डरको कारण अमेरिकाको धेरै मानिस युरोपतिर गए । यसका कारण जनसंख्यामा ठूलो गिरावट आएको थियो । करोडको आवादी घटेर ६० लाख पुगेको बताइन्छ । त्यतिवेला अमेरिकामा उपनिवेशवादको खुब प्रचार–प्रसार चलेको थियो । यस्तो हुनुको प्रमुख कारण दादुरा, मलेरिया, हैजा काली खाँसी, प्लेग जास्ता घातक रोग थिए । यसरी आवादीमा कमी भएको कारण खेतीपाती कम भयो । यसको कारण खेतीयोग्य ठूलो जमिन जंगलमा परिणत भयो । त्यतिवेला अमेरिकामा झण्डै पाँच लाख ६० हजार वर्ग किमी भूमि ठूलो जंगलमा परिणत भयो । फलस्वरुप जलवायुमा भएको परिवर्तनले वातावरणमा कार्बनडाई अक्साईडको कमी भएको, यसका कारण तापमान तल झरेको थियो । वैज्ञानिकका अनुसार यस्तो महामारी रोगको कारण मानिसको मृत्यु भई जनसंख्याको कमी, संसारभर तापमानको कमी भएको कारण संसार हिमयुगतिर बढिरहेको थियो । अन्टार्टिकासहित धेरै ठाउँको तापक्रम पनि पहिले देखि नै कम भै रहेको थियो । बाँचेका मानिसहरूले नयाँ जीवन र नयाँ कामको खोजी शुरु गरे । मानिसको सामाजिक, आर्थिक जीवनमा ठूलो परिवर्तन भयो । देशको सामाजिक आर्थिक  विकासको रफ्तार द्रुत गतिमा अगाडि बढ्यो । उक्त महामारीपश्चात् अमेरिका युरोपमा ठूलो आर्धिक क्रन्ति एवं विकास भएको देखिन्छ ।

सन् १३४७ देखि १३५१तिर युरोपमा प्लेग नामको खतरनाक महामारी फैलिएको थियो । यसलाई ब्ल्याक डेथको नामले पनि चिनिन्छ । यो रोगको कारण करोड भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो । यो रोगको कारण युरोपको एक तिहाइ आबादी खतम भएको थियो । धेरै मात्रामा मानिसको मृत्युको कारण जनसंख्यामा कमी आएको थियो । धेरै किसानहरू मरेका थिए । यो महामारीपश्चात् जमिनदारको दादागिरीमा कमी भएको थियो । बाँचेका किसानले जमिनदारको शोषण, अन्याय, अत्यचार विरुद्धमा आवाज उठाए ।

सामन्तवादी व्यवस्था खतम भयो । शोषण, अन्याय, अत्याचार खतम भयो । किसानहरू आजाद भए । जमिनदारले खेतमा काम गर्ने किसानहरूलाई तलब भत्ता दिनु पर्ने व्यवस्था भयो । सबै मजदूरले आफ्नो परिश्रम अनुसार तलब भत्ता पाए । यही समयमा पश्चिम युरोपको अर्थव्यवस्था, आधुनिकता, व्यापार र समृद्धि अघि बढ्यो । मानिसहरूमा डर हराएको थियो । नयाँ दुनिया, नयाँ जिन्दगीको लागि लामो समुद्री यात्रमा मानिस बाहिर अन्य देशमा जान थाले । मानिसहरूले उपनीवेशवादको पनि शुरु गरे ।  नयाँ अवसर, नयाँ कमाइ, नयाँ जीवनको खोजी शुरु गर्न थाले । काम गरे । देशको अर्थ व्यवस्था वढ्यो । मानिसहरू आधुनिकतातिर अगाडि बढे । प्लेग रोगको महामारी पश्चात पश्चिम युरोपको अर्थतन्त्रमा ठूलो परिवर्तन आएको देखिन्छ । मानिसहरूको जीवनस्तर, रहनसहन, खानपान पहिलेभन्दा सुविधा सम्पन्न, विकसित तथा आरामदायी भएको देखिन्छ ।

त्यसैगरी केरोवियन देश हैटीमा येलो फिवरको महामारी फैलिएको थियो । लाखौँ मानिसको ज्यान गयो । तर शक्तिशाली देश फ्रान्सको विरुद्धमा लड्न त्यतिवेला हैटीले ठूलो भूमिका निभाएको थियो । यो रोग फैलिएपश्चात् अमेरिका महाशक्ति देशको रूपमा उदय भयो । सन् १८०१ मा हैतिले युरोपको उपनिवेशवादविरुद्ध लडाइँ शुरु गर्यो । फ्रान्ससँग सम्झौता भयो । तर फ्रान्सका शासक नेपोलियन बोनापार्टले हैतीलाई कब्जा गर्न युद्धको घोषण गरी सैनिक पठायो । हैती पुगेका करिब पचास हजार भन्दा वढि फ्रान्सका अधिकारी, सैनिक, डाक्टर एलो फिवरको कारण मृत्यु भयो । करिब तीन हजार सैनिक मात्र फ्रान्स फिर्ता आए । यसरी सैनिक येलो फिवर रोगको कारण मरेपछि नेपोलियनले हैटी देश कब्जा गर्ने सोचबाट पछि हट्यो । यसरी फ्रान्सका धैरै सैनिक मर्नुको मुख्य कारण उनीहरूको इम्युन सिस्टम कमजोर नै थियो । अफ्रिकी देशको सैनिकहरूको जस्तो यो रोग झेल्न सक्ने ताकत युरोपियन सैनिकहरूमा थिएन । हैटी स्वतन्त्र राज्य हुन सफल भयो ।

फ्रान्सले हैटीमा कब्जा गर्न नसके पनि करिब दुई वर्ष पछि केरेवियन द्वीपको २१ मिलियन वर्ग किलोमिटर भाग अमेरिकालाई बिक्री गरिदियो । हाल यो क्षेत्रलाई लुजियाना पर्चेजको नामले चिनिन्छ । यसबाट अमेरिकाको क्षेत्रफल दुई गुणा वढ्यो । यसरी येलो फिवरले अमेरिका र हैटी दुवै देशलाई ठूलो फाइदा पुगेको देखिन्छ । अमेरिका हाल संसारको शक्तिशाली विकसित देशको रूपमा रहेको छ ।

तेस्तै, चीनमा पनि मेग राजबंशले तीन शताब्दी सम्म शासन गरेको थियो । पुर्वी एसियामा यो राजवंशको राजनितिक तथा सांस्कृतिक प्रभाव थियो । प्लेग रोग महामरीको कारण यो राजवंशको अन्त भएको देखिन्छ । स्रोतका अनुसार सन १६४१ मा उत्तरी चीनमा प्लेग रोग तथा मलेरिया महामारीको रूपमा पैmलिएको थियो । लाखौँ मानिस यो रोगको कारण मृत्यु भएको थियो । प्लेग रोग फैलिएको वेला चीनमा सलहको प्रकोप तथा सुख्खा खडेरीको प्रकोप थियो । अन्न बाली सबै सखाप भएको थियो । देशमा भुखमरीे फैलिएको थियो । खाना खाना नपाएर मानिसले मान्छेको मासुसमेत खाएको कुरा उल्लेख छ ।

त्यसै बखत मौकाको फाइदा उठाई उत्तरी तर्फका आक्रमणकारीले चीनको मेघ राजवंशमाथि आक्रम गर्यो र पछि मञ्चुरियाको राजाले लडाइँ जिती चिनको राज्य आफ्नो कब्जामा लियो । उनिहरूले लामो समय सम्म चीनमा राज्य गरे । चीनको अर्थ व्यवस्था मजबुत बन्यो । यस्तो महामारीपश्चात् चीनमा पनि विकासले गति लिएको देखिन्छ ।

त्यसैगरी सन् १८८८ देखि १८९७ को विचमा अफ्रिकामा राइण्डर पिस्ट नामक भाइरसको कारण लगभग ९० प्रतिशत पाल्तु जनावरको मृत्यु भयो । यो महामारीको कारण पश्चिमी तथा दक्षीणी अफ्रिकामा बस्ने मानिसहरूको जीवनमा आमूल परिवर्तन भयो । खेतीमा प्रयोग हुने गोरु मरेको कारण खेतीपाती हुन नसकी भोकमरी फैलिएको थियो । यसैबीच युरोपियन देशहरूले अफ्रिकाका केही द्विपमा उपनिवेशवाद कायम गर्न सुवर्ण मौका मिल्यो । यो महामारी फैलिनुअघिदेखि नै युरोपियनहरूले अफ्रिकामा साम्राज्यवाद कायम गर्ने सोच बनाएका थिए । सन १८८४ देखि १८८५ मा जर्मनीको राजधानी बर्लिनमा युरोपियन देशहरूको सम्मेलन भएको थियो । यसमा जर्मनी, इटली, पोर्चुगल, लेलायत समेत १४ मुलुकले भाग लिएका थिए । यो सम्मेलनबाट यिनीहरूले अफ्रिकाको ९० प्रतिशत भू–भागमा उपनिवेशवाद कायम गर्न सफल भएका थिए ।

अतः इतिहास हेर्ने हो भने महामारी फैलिएका देशमा त्यसको अन्त्यपश्चात् आर्थिक विकास एवं उन्नति भएको पाइन्छ । हामी पनि आशा गरौँ, कोरोनाको महामारीपश्चात् नेपाल पनि आर्थिक विकास, उन्नति र समृद्धिको खुड्किलो चढोस् ।