कोरोना संक्रमणको त्रासबीच पत्रकारिता : जोखिममा पत्रकार

कोरोना संक्रमणको त्रासबीच पत्रकारिता :  जोखिममा पत्रकार

काठमाडौँ - चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ कारण अग्रपंक्तिमा रहेर काम गर्ने विश्वभरका पत्रकारहरू जोखिममा परेका छन् । विश्वव्यापी महामारीको रूपमा देखिएको यो भाइरसका कारण जटिल बन्दै गएको अवस्थामा विश्वका पत्रकारहरू ज्यान जोखिममा राखेर पत्रकारिता गर्न बाध्य छन् । नागरिकलाई सुसूचित गराउन पत्रकारहरु ज्यानको च्याखे थापेर समाचार संकलन गरिरहेका छन् ।  

ताजा ताजा खबर अनि अहिले संकटको रूपमा देखा परेको कोरोनाको प्रभावको बारेमा हरसमयको अपडेटका लागि विश्वका पत्रकार रातदिन कोरोनाको बेवास्ता गरेर काम गरिरहेका छन् । अब कुरा गरौँ, नेपालका पत्रकारहरुको । नेपालका पत्रकार यतिवेला कोरोना भाइरसको समाचार बनाउनमै बनाउन व्यस्त देखिएका छन् । 

कोभिड–१९ को संक्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगतगत रूपमा समाचार संकलनमा खटिएका पत्रकारहरूले विभिन्न समस्या झेल्नुपरेको अनुभव सुनाएका छन् । यतिबेला सञ्चारगृहले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएर मात्र फिल्डमा पठाउनुपर्ने र पत्रकार स्वयंले पनि सुरक्षा पहिलो भन्ने कुरा बिर्सन नहुने हो । तर सधै फिल्डमा निस्कनु पर्ने पत्रकारहरु डर, त्रास र भयमा काम गर्नु परेको यथावत् नै छ । स्यानिटाइजर, मास्क र ग्लोब्स् लगायत सुरक्षा सामग्री अभाव हुँदा पत्रकारहरु पेशाबाट पलायन हुने कि काम गर्ने भन्ने मानसिकताबाट गुज्रिएका छन् । 

त्यसैले कोरोना कहरको विचमा पत्रकारहरु ज्यानको माया एकातिर राखेर व्यवसायिकतासँग सामाजिक उत्तरदायित्व पूरा गर्न बाध्य छन् । कोरोना संकटको घडीमा पत्रकारहरुले व्यवसायिकताभन्दा माथि उठेर सामाजिक दायित्व पूरा गरिरहेका छन् । 

आमनागरिकलाई सत्य , तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म हो । यही धर्मलाई आत्मसात गर्दै उनीहरूले जोखिमपूर्ण अवस्थामा कलम चलाएका छन् । यही अप्ठ्यारो परिस्थितिमा कतिपयले मिडिया हाउसले मौकामा चौका हानेका छन् । आफ्ना कर्मचारीलाई रोजगारीबाट निकालेका छन् । यस्तो कठिन समयमा जागिरबाट हात धुनुपर्दा समस्यामा परेको गुनासो पनि सुनिएका छन् । कतिपय  मिडिया हाउसले तलब समेत  नदिएको अवस्था छ । यस्तो वेला जागिरबाट हात धुनुपर्दा कतिपयको पत्रकारिता पेशा अन्योलमा परेको छ । मिडिया हाउसले आफ्नो स्वार्थसँग मात्र पत्रकारलाई खोज्ने र प्रयोग गर्ने गर्नु दुःखको विषय हो । यो संकटको समयमा आफ्नो धर्म निभाउन पनि जरुरी छ । 

साथै, कोरोनाको कहरमा अहोरात्र खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षाका विषयमा राज्यले चासो र चिन्ता देखाएको छैन । राज्य पत्रकारहरुको सुरक्षाको विषयमा मौन देखिनु  दुःखको  विषय हो । राज्यलाई पटक–पटक पत्रकारहरुको जोखिमका विषयमा  छलफल गर्दा पनि सरकारले सुनेको छैन  । पत्रकारहरुको स्वास्थ्य सुरक्षामा राज्यको ध्यान कहिले जाला  ? 

बुढाथोकी पत्रकार हुुनुहुन्छ ।