कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, तीनको मृत्यु

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, तीनको मृत्यु

काठमाडौँ - थप १८ जनामा संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार एक सय नाघेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४, प्रदेश अस्पतालको सुर्खेतमा दुई र दैलेखमा दुई गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार एक सय चार पुगेको तिवारीले बताउनु भयो । 

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत छन् । त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना छन् ।

कर्णाली प्रदेशका कूल सङ्क्रमितमध्ये कोरोनालाई जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४९४ पुगेको छ। बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् ।

महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना सङ्क्रमित कोरोना जितेर घर फर्केका महाशाखा प्रमुख तिवारीले जानकारी दिनुभयो ।  डोल्पा, दैलेख र सुर्खेतका एक एक गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने अहिलेसम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ। रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन् ।

डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य छ । जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएका स्थानीयले बताएका छन् ।