एक्काइस सङ्क्रमित कोरोना विजेतालाई गाउँमा भव्य स्वागत

एक्काइस सङ्क्रमित कोरोना विजेतालाई गाउँमा भव्य स्वागत

काठमाडौँ  - एक्काइस सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर  घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ । बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए । 

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताउनुभयो । एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उहाँको भनाइ थियो ।