कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौँ  - नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।  सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । 

मृतक पेशाले शिक्षक थिए । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ ।  नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन् ।