लालीगुँरासको मनमोहक दृष्य (फोटोफिचर)

लालीगुँरासको मनमोहक दृष्य (फोटोफिचर)

काठमाडौँ  - मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ । यतिबेला देश बन्दाबन्दीमा नपरेको भए गुराँस फुलेर रङ्गीचङ्गी भएको यो जङ्गलमा हजारौँ मानिस रमाएका हुन्थे । अनि यो प्राकृतिक सुन्दरता पनि आफ्नो स्वरुप देखाउन दिनहुँजसो नयाँ नयाँ मानिसको पर्खाइमा हुन्थ्यो । तर दुर्भाग्य, महामारीका कारण देश यतिबेला बन्दाबन्दीमा छ, मानिसहरु घरबाहिर निस्किन पाएका छैनन् ।  

वनैभरि फूलेको गुराँसले भरिएको मनमोहक दृश्य यस्तो लाग्छ यतिखेर त्यसै खेर गइरहेको छ । त्यस डाँडाबाट पूर्वतर्फ गए सुकेपोखरी र लोहकिल क्षेत्र तथा पश्चिमतर्फ सिलौटी र लब्रेकुटी पुगिन्छ । जताततै अनेकथरिका गुराँसले वन नै ढाकेको छ । पौवाभञ्ज्याङबाट कच्ची बाटोमा आधाघण्टा यात्रा गरेपछि सुकेपोखरी पुगिन्छ । सुकेपोखरीमा रहेका घरबासमा स्थानीय परिकारको स्वाद चाख्न पाउनु फेरि अर्को आनन्द हो । ती घरबासमा बसेर स्थानीय खानाको स्वाद चाख्ने र माथि डाँडामा देखिने रङ्गीचङ्गी गुराँसको दृश्यावलोकन गर्ने । यसैले निकै रमाउँछन् यहाँ पर्यटक । 

तल सानो बस्ती छ, त्यसमाथिको डाँडो नै गुराँसले रङ्गीन छ । जतिमाथि पुग्यो उति धेरै थरिका गुराँस देखिन्छ । जतिमाथि उक्लियो त्यति नै गुराँसको रङ्ग पनि गाढा बन्दै गएको देख्न सकिन्छ । गुराँस हातमा लिएर र कानमा सिउँरिएर तस्वीर र ‘सेल्फी’ खिच्नेको घुइँचो लाग्ने गर्छ । यहाँ एकघण्टा यात्रा गर्दा लोहकिल डाँडामा पुगिन्छ । तीन हजार ३०० मिटर उचाइमा अवस्थित लोहकिलबाट चारैतिर रहेको गुराँसको जङ्गल, पहाडका फाँट, बेँसी तथा उच्च हिम शृङ्खला देखिन्छ ।

तर यसवर्ष कोभिड–१९ को विश्वव्यापी प्रकोपले जङ्गलको गुराँसले आफ्नो सुन्दरता मानिसलाई देखाउनै पाएन । गुराँसको फूलमाथि बसेर जङ्गली पक्षीले छर्ने मधुर आवाज सुन्न पनि अहिले यहाँ कोही पुगेको छैन । मानिसले हेर्नै नपाई गुराँस यसै फक्रने पो हो कि भन्ने चिन्ता दिनप्रतिदिन बढ्दैछ । अबका केही दिनमा यहाँ मन्द हावा चल्न थाल्छ र फक्रेको गुराँसको फूल झारेर भुइँभर बनाइदिन्छ । सेतो गुराँसका फूल भुइँमा खसेपछिको दृश्य हिउँपरेजस्तै देखिन्छ । यी सब दृश्यावलोकनका लागि खासगरी नेपाली नयाँ वर्ष, वैशाख १ गतेको वरपर यहाँका डाँडा आन्तरिक पर्यटकले भरिभराउ हुन्थे । तिनै मानिसले खिचेका तस्वीरले सामाजिक सञ्जालसमेत रङ्गिन्थे । चैतको मध्यदेखि वैशाख मसान्तसम्मको समय गुराँस फुल्ने क्षेत्रको भ्रमण उपयुक्त ठानिन्छ । तर नयाँ वर्षको आसपास यसवर्ष यहाँ र अन्यत्रका यस्तै दृश्य हेर्न कोही नेपालीले पाएनन् । बाह्य पर्यटक पनि रमाउन पाएनन् । 

एक हजार २०० देखि तीन हजार ६०० मिटर उचाइसम्म गुराँसको विविधता पाइन्छ । प्रदेश नं १ मा ३१ प्रजातिका गुराँस पाइने विभिन्न अध्ययनले देखाएका छन् । यस क्षेत्रमा कति प्रजातिका गुराँस पाइन्छन् भन्ने अध्ययन भने हुन सकेको छैन । तर सेतो, रातोलगायत धेरैथरिका गुराँस फुलेको देखिएकाले यी जङ्गलमा पनि धेरैथरिका गुराँस हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ । गुराँसे जङ्गल क्षेत्रको संरक्षण, अध्ययन तथा व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणका लागि गुरुयोजना निर्माण गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग मिलेर पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना रहेको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङको भनाइ छ ।

यो वर्ष भने कोभिड–१९ को विश्वव्यापी प्रकोपले वनभरिको गुराँसजस्तै घरबासले पनि अतिथिलाई स्वागत गर्न पाएनन् । उता गुराँसले आफ्नो सुन्दरता देखाउन नपाएजस्तै घरबास सञ्चालकहरु पनि उदास र एक्लो परेको महसुस गरेका छन् । गुराँस र यहाँको प्राकृतिक सुन्दरतामा आधारित व्यवसाय गर्नेहरुका लागि यो वर्ष राम्रो आम्दानी गर्ने ठूलो मौका थियो । “वर्षेनी लाखौँ रकम आम्दानी हुन्थ्यो । यो वर्ष हिँउदमा पानी परेकाले यो याममा झरी नलाग्ला भन्ने आशा थियो”, घरवास सञ्चालक फौदमान राईले भन्नुभयो, “गुराँस फुल्ने याममा मेला पनि लगाइन्थ्यो । एकै यामको आम्दानीले वर्षभर खान पुग्थ्यो ।” व्यवसाय गर्नेहरुलाई मात्र नभएर घुम्न जानेहरुका लागि पनि यो मौसम विशेष नै हुने गथ्यो, खुबै रमाउँथे पर्यटक । तर यसवर्ष भने यो सब कल्पना मात्र भयो । 

कोभिड–१९ को प्रकोपका कारण जारी बन्दाबन्दीले झण्डै तीन हजार मिटर उचाइमा रहेको सुकेपोखरीस्थित घरबास र तीन हजार ३०० मिटर उचाइमा रहेको गुराँस भ्रमण क्षेत्रमा समेत प्रभाव पारेको छ । यहाँका घरबास सञ्चालक यो याममै पर्यटक नआउने भएपछि चिन्तामा छन् । विशेषतः आन्तरिक पर्यटकको भीड लाग्ने सुकेपोखरी÷लोहकिल क्षेत्र प्रभावित भएको घरबास सञ्चालक सुरेश राईको भनाइ छ । नयाँ वर्षको दिन तथा त्यसअघि र पछिको एक÷एक साता सुकेपोखरी तथा लोहकिल क्षेत्रका लागि विशेष थियो । हजारौँ पर्यटकको घुइँचो लाग्थ्यो । लाखौँको व्यापार हुन्थ्यो । 

जडीबुटीको पनि यो क्षेत्र खानी नै मानिन्छ । यहाँ रुखमा लाग्ने झ्याउको राम्रो परिकार खान सकिन्छ । झ्याउ प्रतिकिलो एक हजार ५०० सम्ममा बिक्री हुन्छ । यो क्षेत्रमा पूर्वी नेपालमा विरलै देख्न पाइने चाँप गुराँससँगै फुलेको देख्न पाइन्छ । सुकेपोखरीसहित यहाँ लोहकिल, नागढुङ्गा, पाटेनागी र कुहिभिर देउरालीलगायत रमणीय क्षेत्र छन् । यी स्थानमा लाग्ने पर्यटकको घुइँचोले मिल्ने गरेको आर्थिक लाभ कोरोना भाइरसको प्रभावले गुम्दै जान सक्ने स्थानीयवासीको चिन्ता छ । “ठूलो मेहनतले यहाँ वर्षेनी पर्यटक भित्रिने अवस्थाको निर्माण गरेका थियौँ पर्यटक गुमाउनु पर्ला कि भन्ने चिन्ता पो बढ्न थालेको छ”, घरबास सञ्चालक सुरेश राईले थप्नुभयो, “आर्थिक रुपले नाजुक अवस्था आउनसक्ने र व्यवसाय सङ्कटमा पर्ने चिन्तामा छौँ ।”