कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो : सांसद थापा

कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो : सांसद थापा

काठमाडौँ  - नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो भएको बताउनुभएको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै सांसद थापाले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको तर अहिलेकै तयारीले कोरोना महासंकटसँग जुध्न पर्याप्त नहुने बताएका हुन् ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन् । ‘हामीले जे गरिरहेका छौं पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न,’ थापाले भनेका छन्, ‘हामीले तत्कालै गर्नुपर्ने केही विषयमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।’

हवाइ र स्थलमार्गबाट नेपाल भित्रिएका नेपालीहरू कहाँ छन् भन्ने एकिन विवरण संकलन गर्न ढिलाइ गर्न नहुने थापाको भनाइ छ । ‘संक्रमितको निकट सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्छ,’ थापाको सुझाव छ । उनले परीक्षणको दायरा बृद्धि गर्न माग गरेका छन् । ‘परीक्षणको दायरा बढाऔं,’ थापाको भनाइ छ, ‘जनशक्ति, किट र उपकरण व्यवस्था गरौं। ढिला नगरौं ।’

जति धेरै परीक्षण र्गयो उति संक्रमण भएका व्यक्ति भेटिन सक्ने अवस्था हुने भएकोले व्यवस्थापन राम्रोसँग गरिनुपर्ने उनले बताए । ‘परीक्षणको दायरालाई फराकिलो बनाऔं यसले गर्दा नेगेटिभ देखियो भने खुसीको कुरा भइगो, पोजेटिभ देखियो भने तत्कालै उपचार थालौ,’ उनले भनेका छन् । उनले शंकास्पद संक्रमित खोज्न सरकारले रणनीति तयार पार्नुपर्ने सुझाव दिएका छन्। ‘फ्रि क्लनिक, आइसोलेसन वार्ड, कोरोना अस्पताल स्थापनादेखि तोकिएका अस्पतालमा आइसियुको विस्तार गरिहाल्न जरूरी छ,’ थापाले भनेका छन् ।

अस्पतालहरूमा अत्यावश्यक सेवा प्रभावित भएको र विरामीको सेवासमेत प्रभावित हुन गएकोले त्यसो हुन नदिन व्यवस्था राम्रो गरिनुपर्ने बताएका छन् । स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारको समन्वय अभाव खड्किरहेको भन्दै थापाले तत्कालै समन्वय गरी काम गर्ने वातावरण पनि निर्माण गर्न आग्रह गरेका छन् ।