नेपालमा पनि कोरोनाभाइरस भेटियो, भाइरसबाट आत्तिहाल्नु पर्ने नरहेको चिकित्सको भनाई

नेपालमा पनि  कोरोनाभाइरस भेटियो, भाइरसबाट आत्तिहाल्नु पर्ने नरहेको चिकित्सको भनाई

काठमाडौं - चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । तर पनि सरकार र विज्ञहरूले नेपालमा यसको खतरा नरहेको बताइरहेका छन् ।

सरकारले सतर्कता बढाएको बताएको छ भने विज्ञहरू सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । केही दिनअघि चीनबाट फर्किएका एक विद्यार्थीलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि पाँच दिन टेकु अस्पतालमा उपचार गरी घर पठाइएको थियो । स्वास्थ्य जाँचको रिपोर्टले उनलाई कोरोना भाइरस संक्रमण भएको देखाएको छ । सरकारले उनीसहित उनका सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

तर चिकित्सकहरू भने नेपालमा कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुन नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको तर्क  गर्छन । कोरोना भाइरस संक्रमितमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिन्छन् ।

यी लक्षण देखिँदैमा कोरोना भाइरस संक्रमण नै भएको भन्न सकिँदैन । तर यी लक्षण देखिए सावधानी अपनाएर अस्पताल पुग्न सुझाव दिन्छन्, चिकित्सक । यता सरकारले कोरोना भाइरस नेपालमा फैलिन सक्नेतर्फ सतर्क रहेको बताएको छ ।

विभिन्न सीमा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा निगरानी गर्ने गरिएको सरकारको दाबी छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारको तयारी मात्र पर्याप्त हुँदैन । सर्वसाधराणले पनि आवश्यक सचेतना अपनाउने र शंका लाग्नेवित्तिकै अस्पताल पुगेर जचाउँने हो भने संक्रमण फैलिन पाउँदैन ।।