ताम्सालिङको लागि रगत बगाउन तयार छौँ : सांसद् प्रेम तामाङ

ताम्सालिङको लागि रगत बगाउन तयार छौँ  :  सांसद्  प्रेम तामाङ

काठमाडौँ - बागमती प्रदेशका सांसद् प्रेम तामाङले कुनै पनि बेला ताम्सालिङको पक्षमा आन्दोलन उठ्ने चेतावनी दिएका छन् ।

सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित् समारोहलाई सम्बोधन गर्दै सांसद् तामाङले ताम्सालिङको पक्षमा ठूलो आन्दोलन उठ्ने चेतावनी दिएका हुन् । त्यो आन्दोलनका निम्ति आफूहरु रगत बगाउन तयार रहेको उनको भनाई रहेको थियो ।

शासकहरुले तामाङहरुलाई कमजोर नसोच्न आग्रह गर्दै उहाँले भन्नु भयो, ‘हामी रगत बगाउन तयार छौँ, कुनै पनि बेला ताम्सालिङको पक्षमा आन्दोलन उठ्छ–उठ्छ ।’

सांसद् तामाङको भनाई उहाँकै  शब्दमा । हामी तामाङ सांसदहरु मन्त्री हुँदैमा खुसी हुन्छौँ, खुसी हुनुपर्ने दिनहरु गए । एक दुईजना मन्त्री हुँदैमा, सांसद् हुँदैमा हामी खुसी हुँदैनौँ अब । हामी त्यो दिन जब हामी तामाङहरुले ताम्सालिङ ल्याउँछौँ, कोमामा रहेको ताम्सालिङलाई फेरि जगाएर ल्याउन सफल हुन्छौँ । म अनुरोध गर्न चाहन्छु, हाम्रो ताम्सालिङ भूमिलाई, यो माटोलाई बागमती नामकरण गरिएको छ, गण्डकी प्रदेशमा रहेका गुरुङहरुलाई पनि अनुरोध गर्न चाहन्छु, १ नम्बरको नाम पनि किराँत हुने छैन, ५ नम्बरको नाम पनि मगरात रहने छैन, । त्यसकारण एकपटक यस्तो आन्दोलन गरौँ कि जात्तिय पहिचानको आधारमा पहिचानको नाम घोषणा हुनेछ ।

म एउटा तामाङको छोराको हैसियत्ले भन्न चाहन्छु, ताम्सालिङको पक्षमा आन्दोलन उठ्छ–उठ्छ । हिजो बाबुराम तामाङहरुले जसरी रगत् बगाउन तयार छौँ । अहिलेसम्म तामाङहरुले हारेको इतिहास छैन । ठुटे शासकहरुलाई साउने भेलले बगाउन नसके पनि तामाङहरुको आन्दोलनको भेलले बगाउने छ, हामीलाई कमजोर नसोचोस् । हामीले रगत लिन मात्रै होइन, दिन पनि जानेका छौँ ।

ताम्सालिङ मरेको छैन, मर्यो भनेर शासकहरु खुसी भइरहेका छन् । यो तामाङहरुको मुठ्ठीमा छ ।