तपाईँ भगवान् शिवको कुन रूप अँगाल्न चाहनुहुन्छ ?

तपाईँ भगवान् शिवको कुन रूप अँगाल्न चाहनुहुन्छ ?

काठमाडौँ  - ध्यानमग्न रूपमा बसेका शिवजीको शान्त स्वरूप । घाँटीमा सर्पको माला र कम्मरमा बाघको छाला भिरेर भूत, प्रेत, पिशाच साथमा लिई हिँड्ने शिवजी । अर्कातिर जटा पछारेर वीरभद्र र महाकालीजस्ता शक्ति उत्पन्न गर्ने उनको रौद्र रूप । तपाइँ भगवान् शिवको कुन रूप मन पराउनुहुन्छ ! कुन रूपको अनुसरण गर्न चाहनुहुन्छर ! कुन गुण आफूमा आओस् भन्ने कामना गर्नुहुन्छर ! महाशिवरात्रि आसपास पाशुपत क्षेत्रमा जोगीहरूसँग लिएर गाँजा–भाङ तान्नेहरूको जवाफसँगै प्रश्न हुन्छ, भगवान् शिवको प्रसाद । शिवले खान हुने हामीले किन नहुने ! 

श्रीमद्भागवतलगायत पुराणहरूमा समुद्र मन्थनको प्रसंग आउँछ । समुद्र मन्थनका क्रममा अनेक किसिमका बहुमूल्य वस्तु निस्कन्छन् । रत्न, अमृत इत्यादि । ती सबै देवता दानवले खोसाखोस गर्छन् । तर जब कालकूट विष निक्लन्छ। कोही लिन तयार हुँदैन। सबैको भागाभाग चल्छ । त्यो विष फैलियो भने संसार एकैछिनमा ध्वस्त हुन्छ । विष ग्रहण गर्न उनै शिव अघि सर्छन् । हातमा विष लिएर घुटुघुटु पिइदिन्छन् । घाँटीमा पुगेर विष अड्किन्छ । विषको प्रभावले घाँटी नै निलो हुन्छ । नाम रहन्छ, नीलकण्ठ ।

संकटका बेला देवता दानवको भेद नराखी सबैमाथि समभाव राख्ने शिवको प्रशंसा जति गरे पनि कम हुन्छ । संकट पर्दा अरुलाई देखाउने वा अरुको काँधमाथि जिम्मेवारी छोडिदिने मानव समुदायका लागि यो गतिलो उदाहरण हो । शिवको नाम शिव त्यसै रहेको होइन । विष पिएर सबैको कल्याण गरेका हुनाले भनिएको हो, शिव। शिव अर्थात् कल्याण । उनको शान्त स्वरूको अर्थ पनि त्यही हो, सबैको कल्याण गर । कसैको अकल्याण नगर । कसैको कुभलो नचिताऊ । भक्तहरूको उपासनाबाट चाँडै खुशी हुने आशुतोष उनको अर्को नाम हो । अब जाऔँ शिवजीको रौद्र रूपतर्फ । सनातन धर्मको मान्यताअनुसार ब्रह्मा सृष्टि, विष्णु रक्षा र शिव संहारका देवता ।

सबैको कल्याण गरे पनि दुष्टतत्त्वको संहारको आवश्यकता त पर्छ नै । त्यतिबेला शिवजी रौद्र रूपमा प्रकट हुन्छन् । भूत, प्रेत, पिशाच आदि उनका गण हुन्छन् । खरानी घस्ने, बाघको छाला कम्मरमा बेरेर गाँजा, भाङ धतुरो आदि सेवन गर्ने उनको यो बेलाको रूप हुन्छ ।  जसरी अरुमा त्यसको दुस्प्रभाव पर्न नदिने उद्देश्यले शिवले विषपान गरेका हुन्, गाँजा–भाङ–धतुरोको सन्दर्भमा पनि त्यही हो । ‘संसारमा भएका खराब तत्त्वहरू म ग्रहण गर्छु, तिमी असल कुरा लिऊ र समाजलाई असल कुरा नै देऊ’ भन्ने उनको सन्देश हो । उनको सन्देशको अर्थ नबुझी शिवको प्रसाद, शिवजीले खान हुने मैले किन नहुने जस्ता तर्कहरू गलत हुन् । फेरि समाजमा नकारात्कम पक्ष पनि उत्तिकै जरुरी छ भन्ने सन्देश पनि हो ।

जसरी रात नभई दिन हुँदैन, खराब तत्त्व नभई असल पक्षको महत्त्व हुँदैन । शिवका साथमा रहेका सर्प, भूतप्रेत, पिशाचको अर्थ पनि त्यही हो । अर्कातिर संहारका देवता भएकाले प्रलयका लागि यी तत्त्वहरूको आवश्यकता पर्ने नै भयो । पुराणमा एउटा प्रसंग आउँछ, शिवजी पार्वतीसँग विवाह गर्न हिमालय पर्वतको घर जान्छन् । शिवको बाहिरी स्वरूप देखेर पार्वतीकी आमा मेना चिन्तित हुन्छिन्, ‘छोरी दिन लागेको बेहुलाको हालत यस्तो छ ।’ हुनेवाला ज्वाइँ सर्पका माला लगाएका बाघको छाला बेरेका । अनेक किसिमका गणले युक्त भएका ।

तर केही बेरमै शिवको वास्तविक सुन्दर रूप देखिन्छ । बाहिरी रूप त  शिवजीको लीलामात्र हो भन्ने ज्ञान उनलाई हुन्छ । शिवजीको यो रूपले अर्को सन्देश दिन्छ, कसैको मूल्याङ्कन गर्दा वा कसैप्रति व्यवहार गर्दा बाहिरी रूपमात्र हेर्नु हुँदैन । अहिलेको समाजले मानिसको गुण, व्यवहार र बौद्धिकताभन्दा बाहिरी लवाइखुवाइ हेर्छ र उसको बारेमा धारणा बनाउँछ । शिवको बाहिरी रूप हेरेर व्यवहार गर्दा दक्षप्रजापति नष्ट हुनपुगेको कथा हामीले सुनेकै छौँ । शिवले लगाउने भष्म (खरानी)ले जीवनको यथार्थलाई स्मरण गराउँछ ।

किनभने मृत्यु अवश्यम्भावी छ। एक दिन हामी सबै पुग्ने त्यही ठाउँ हो । हुने खरानी नै हो । त्यसैले अनावश्यक अभिमान नगर्नु भन्ने सन्देश दिन्छ । श्मसानमा बस्ने शिवजीको रूप पनि मानिसलाई वैराग्यतिर लैजान प्रेरित गर्छ । शिवको ध्यानमग्न स्वरूपबाट योगको उत्पत्ति भएको छ । उनी नै आदियोगी वा परमयोगी मानिन्छन् । ध्यानमग्न शिवजीको केशबाट गंगा बहेकी छिन् । शिवले गरेको ताण्डवबाट नृत्यको प्रादुर्भाव भएको छ । उनको डमरुको आवाजबाट व्याकरणका चौध सूत्रको उत्पत्ति भएको छ । त्यसैबाट भाषाको विकास भएको छ । शिव परिवारभित्र वृष (गोरु)देखि बाघसम्म र मुसादेखि मयुरसम्म अटाएका छन् । यो विविधतामाथिको एकता हो । यो हाम्रो समाजको प्रतिबिम्ब पनि हो ।

जाति र संस्कृति विविध भए पनि आ–आफ्नो कर्ममा रमाउनुपर्छ, एकअर्कार्कामाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने उदाहरण हो यो ।  लीला पुरुषहरूले फरक फरक उद्देश्यले विभिन्न समयमा गरेका लीलाहरूको अनुकरण मानिसका लागि उपयुक्त नहुन पनि सक्छन् । अनुसरण गर्न योग्य भगवान् शिवका अनेकौँ पक्ष छन् । अर्थ बुझेर अनुसरण गरौँ। विकृतिलाई संस्कृतिको स्वरूप नदिऔँ । अर्थको अनर्थ नबनाऔँ । महाशिवरात्रिको यो पावन अवसरमा शिवको शान्त स्वरूपको अनुसरण गरौँ । त्यही स्वरूप आफूमा ल्याउने कोशिश गरौँ। सबैको कल्याण सोचौँ । सबैको कल्याण हुने काम गरौँ । महाशिवरात्रिको शुभकामना !