उपत्यकाको विभिन्न क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती (भिडियोसहित)

काठमाडौँ  - काठमाडौं उपत्यकाको विभिन्न  क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । उपत्यकालाई स्मार्ट सिटी बनाउछु भन्ने महानगरपालिकाले वर्षौ देखि सार्वजनिक शौचलय समेत बनाउन सकेको छैन ।  

काठमाडौं महानगरले तीन वर्षअघि एक सय ३० सार्वजनिक शौचालय बनाउने योजना ल्याएको थियो । दुई करोड रुपैयाँ छुट्याएर शौचालय निर्माण एक वर्षभित्र सक्ने उसको योजना थियो ।

तर, ती सबै योजना कागजमा मात्रै सिमित भएका छन् । काठमाडौंका पर्याप्त सार्वजनिक शौचालय नहुँदा आमनागरिक र पर्यटक मारमा पर्ने गर्छन् । तर महानगर भने सार्वजनिक शौचालय निर्माणको काम अघि बढिरहेको दाबी गर्छ ।

काठमाडौंमा भएका सार्वजनिक शौचालयको अवस्थाबाट सर्वसाधारण आजित छन् । न सरसफाइ छ न त पानीको व्यवस्था नै । दुर्गन्धित र अव्यवस्थित छन् । शौच गर्न बस्दा पनि नाकमुख थुनेर बस्नुपर्ने अवस्था छ । कोटेश्वर, रत्नपार्क, भोटाहिटी र गौशाला लगायत स्थानमा रहेका सार्वजनिक शौचालयको हालत उस्तै छ ।

कुनै पनि घर वा गाउँ शहर कतिको सभ्य छ भन्ने कुरा त्यहाँ रहेका शौचालयले तय गर्छ भनिन्छ । अझ अहिले त देश नै नेपाल भ्रमण वर्षको महाअभियानमा छ । देशको राजधानीमा पर्ने महानगरमा शौचालयको यस्तो अवस्थाले देशविदेशमा कस्तो सन्देश प्रवाह होला ? पर्याप्त शौचालयको व्यवस्था र भएका शौचालयको व्यवस्थापन गर्न नसक्ने महानगर कसरी स्मार्ट बन्ला ?।।