जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी

जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी

काठमाडौँ  -  जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी गरिएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरुले बताएका छन् । आयोजकले प्रतियोगिता निर्धारित समयमै आयोजना हुनेमा शंका नरहेको स्पष्ट पारेका छन् ।

ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम नहुने बताए । कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उनको भनाइ छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरु २ सय ४८ जना संक्रमित भएको जापानी अधिकारीहरुले पुष्टि गरेका छन् ।  हरेक चार–चार वर्षमा हुने ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस वर्ष आगामी जुलाई २४ उद्घाटन भएर अगस्ट ९ तारिखका दिन सकिने गरी तय भएको छ ।