तिलौराकोटको बयान गरेर पर्यटकहरुको ध्यान तान्ने फुच्चे केटा

तिलौराकोटको बयान गरेर पर्यटकहरुको ध्यान तान्ने फुच्चे केटा

काठमाडौँ   -  गौतमबुद्धको ज्ञान र जिवनीको गाथामा कपिलवस्तुको तिलौराकोटको ऐतिहासीक महत्व छ । बौद्धमार्गीहरुले तिलौराकोट अवलोकन गर्न पुग्दा जुन अपेक्षाका साथ पुग्ने गर्दछन् त्यस्तो ब्यवस्थापन लुम्बिनी गुरु योजनाले गर्न सकेको छैन । बिकास कोषले तिलौराकोटलाई आझेलमा पारेपनि तिलौराकोटका एक फुच्चे स्थानीय बालकले भने चमत्कारीक तिलौराकोटको बयान गरेर पर्यटकहरुको ध्यान तान्ने गरेका छन् ।

सिद्धार्थ गौतमले सबै भन्दा बढी समय ब्यतित गरेको कपिलवस्तुको तिलौराकोटमा तपाई पुग्नुभयो, भने एक जना फुच्चे गाईड तपाईको लागि सबै भन्दा बढी उपयोगी बन्न सक्दछन् । बुद्धले जीवनको पहिलो २९ बर्ष बिताएको स्थान तिलौराकोट, बुद्धको जीवनी र बौद्धक्षेत्रका बारेमा तथा उनको आमा—बुवा, जन्म—मृत्यु, लुम्बिनी, रामग्राम, देवदह, कन्थक घोडा, सारथी छन्दक, बोधगया, पञ्चशील लगायतको बारेमा कक्षा ५ मा पढ्ने ९ बर्षका बालकले बुद्धको तीनपुस्ते र तिलौराकोटको बारेमा फरर बताइदिन्छन् ।

स्थानीय राहुल साहनीलाई बुद्धको तिलौराकोट बसाई प्राय कण्ठ छ । निम्न परिवारका साहनी हामी पुग्दा फाटेको कालो जुत्ता सहित स्कुले ड्रेसमा तिलौराकोटमा भेटिएका थिए । प्रस्ट बोली, छिटोछिटो र घोकन्ते ज्ञान जस्तै उनले कपिलवस्तुको तिलौराकोट पुग्ने जो कोहीलाई बुद्ध र उनको जीवनीबारे बताउँछन् । 

बुद्धका बारेमा फरर बताउने राहुल बुद्धको बिषयमा कहिं कतै गएर अध्ययन गरेर आएका भने होईनन् । स्वदेशी र बिदेशी पर्यटकहरुले लिएर आएका गाईडहरुको पछिपछि हिंड्दै उनीहरुले पर्यटकहरुलाई बताएको कुरा ध्यान दिएर सुन्दैपछि लाग्दै राहुल बुद्धको बारेमा जानकार बनेका हुन् । गाईडहरुको पछि लाग्दा लाग्दै छोरा फुच्चे गाईड बनेकोमा उनका बाबु मख्ख छन् । ७ वर्ष कै उमेरदेखि बुद्धको बारेमा बताउने र पर्यटकहरुले खुसि भएर दिने पैसाले साहनीको पढाई खर्च जुटेपछि घरपरिवारलाई आर्थिक सहयोग समेत पुगेको छ । 

कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ५ मा पढ्ने राहुल स्कुल समय सकिए लगत्तै तिलौराकोट पुग्छन् र गाईडको काम गर्छन् । उनले यही काम गरेर मासिक ४—५ हजार कमाउँछन् । कमाएको पैसा स्कुलमा फी तिर्ने गरेको उनका बाबु साहनी बताउंछन् । 

राहुल नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजीभाषा प्रष्टै र फररर बोल्छन् । उनको बाबुआमा खेतीपाती गर्छन् । घरमा बलियो आर्थिक स्रोत छैन, छोराको क्षमताले खुसि भएका उनीहरु भबिश्यमा छोरा ठूलो मान्छे बन्नेमा ढुक्क देखिन्छन् । उनी घरको जेठो छोरा हुन् ।

राहुलमा देखिएको अदभुत कलालाई संरक्षण र प्रोत्साहन गर्न सकिए बुद्ध दर्शनको इतिहासमा एक नया आयाम थपिने निश्चित छ । के ति फुच्चे बालकलाई बुद्ध दर्शनका लागि उच्च शिक्षा सम्म प्रदान गरिदिन राज्यसंग कुनै योजना बन्ला ?