माघी सम्झना

माघी सम्झना

सकिये हो.....

माघकी गुरी गुरी जाँर , सकिये हो ..

यो थारु सखिया नाँच अब केही साल पछि युट्युबमा मात्र पाइन्छ होला । 

थारुको नयाँ बर्ष ,  नेपालीको तरुल, सख्खरखण्ड , घिउ चाकु सँग जोडिएको रिती

अब सामाजिक सञ्जालका भित्ताहरुको तस्विरमा सिमित भएछ । 

दोभान र त्रिवेणीको मकर स्नान अब गिजरको हट वाटर बाथ भएछ । 

बालापनमा अघिल्लो दिनबाटै आगो ताप्नलाई जम्मा पारेको दाउराका मुढाहरु 

अब शहरीकरणको बदलिँदो डढेलोमा गुमनाम भएछन् । 

रात रात भर कहानी सुनाउने बाजे लगायत बुढाहरु

सरकारी वृद्धाश्रमका मूल्यहिन इनाम भएछन् । 

सोच्दा लाग्छ, कहीँ सूर्यदेवले पनि यो दिनदेखी

उत्तरायण लाग्नुपर्ने भन्ने भुल्ने त होइनन् ?

म मान्छु भएको बल्ब निकालेर टुकी बाल्नु 

पूरातनबादी सोच हुँदै होइन ।

तर अफसोच

कतै हामीले आधुनिकताको नाममा 

आफू अनि आफ्नो पहिचानकै चिना हराउदै त छैनौँ ?

अनि..अनि नेपालमा अल्झेर नागरिकता थन्काउदै

पासपोर्ट र भिषा मन पराउँदै त छैनौँ ?

पुष्प राज ओझा

गोदावरी—१, अत्तरिया कैलाली