सिंहदरबारस्थित संसद् भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन

सिंहदरबारस्थित संसद् भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन

काठमाडौँ  - प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद् भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ । 

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर मौलिकता नबिग्रिने गरी नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उक्त निर्देशन दिनुभएको हो ।

बैठकमा सांसदहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझाव विज्ञबाट आएको बताउनुभयो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले भवनलाई यथावत् अवस्थामा राख्न उपयुक्त नहुने भए के गर्ने भन्ने विषयमा निर्णय नभएको बताउनुभयो । समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो