’ए’ डिभिजन लिग फुटबलमा एनआरटीको तेस्रो जित

’ए’ डिभिजन लिग फुटबलमा एनआरटीको तेस्रो जित

काठमाडौँ  -  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आज भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो ।

पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ । आजै अहिले केहीबेरमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । एपीएफ एक जित, एक बराबरी र तीन हारका साथ १३ औं स्थानमा छ । आजको खेलमा जित हात पारे च्यासल आठौं स्थानमा उक्लने छ । तालिकाको आठौं स्थानमा उक्लिने अवसर च्यासललाई समेत छ । बलियो च्यासलविरुद्ध एपीएफ महत्वपूर्ण तीन अंक लिने दाउमा छ ।