‘ए’ डिभिजन लिगको अन्तिम दिन दुई खेल आज हुँदै

‘ए’ डिभिजन लिगको अन्तिम दिन दुई खेल आज हुँदै

काठमाडौँ  -  सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरणको अन्तिम दिन आज २ खेल आज हुँदैछन् ।पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् । दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ ।

दुवै खेल दशरथ रंगशालामा हुनेछन् । लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध संकटालाई जितको बिकल्प छैन । यस्तै, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जितको बिकल्प छैन । लिगमा ४ खेलबाट संकटा र एपीएफले जम्मा एक जित मात्रै दर्ता गराएको छन् । दुवै टिमको समान ४ अंक रहेको छ ।

अर्को खेलमा लिग जित्ने लक्ष्य बनाएको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई तालिकाको शीर्ष स्थान उक्लने अवसर छ । आज सरस्वती युथ क्लबलाई पराजित गरेमा आर्मीले लिग तालिकामा स्पष्ट एक अंकको अग्रता प्राप्त गर्नेछ । लिगमा दाबेदारीता प्रस्तुत गरेपनि पाचौं चरणसम्म आईपुग्दा आर्मीले शीर्ष स्थानमा उक्लिन पाएको छैन ।

मनाङ मर्स्याङ्दी र मछिन्द्रले अन्तिम खेलमा २–२ को बराबरी खेलेपछि आर्मीले लिगमा नेतृत्व गर्ने अवसर पाउने सम्भावना बनेको हो । सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । सरस्वती तालिकको पुछारमा छ । रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन ।