दोलखा जिल्लाका विभिन्न स्थानमा हिमपात सुरु

दोलखा जिल्लाका विभिन्न स्थानमा हिमपात सुरु

काठमाडौँ  - हिउँद महिनाको आगमनसँगै नेपालको हिमाली भेगमा यतिबेला हिउँले डाँडाकाँडा छपक्क हिउँले छोपेको छ । भीर, पाखा र खोल्सामा  पनि हिउँले पुरिएर मनमोहक बनेका छन् । हिउँ परेपछि कहीँ खुसीयाली त कही विस्मात छाएको छ । मंसिरदेखि माघ फागुनसम्म जति धेरै हिउँ परे त्यति नै कृषकका लागि उत्पादन र खेति गर्न राम्रो हुने भएकाले हिउँ पर्दा कृषक खुसी हुन्छन् ।  हिउँदमा हिउँ पर्नु हाम्रा लागि मलजस्तै हो, जति हिउँ परे उति नै उत्पानमा वृद्धि हुने गर्दछ । हिउँ पर्नासाथ त्यहाँ रमाउन जानेहरुको सङ्ख्या बढ्ने गर्दछ । 

हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट क्षेत्रमा यस वर्ष पनि हिमपात भएको छ । सदरमुकाम चरिकोटको भ्युटावर क्षेत्रमा शनिबार रातीदेखी बाक्लो हिमपात भएको छ । चरिकोट बजारको माथिल्लो ठाउँमा पुनः गत वर्ष जस्तै गरि यस वर्ष पनि हिमपात भएको हो । करिब ३५ हजार पर्यटक दोलखामा भित्रिएका सकेका छन् ।

भ्रमण वर्ष २०२० सुरु भएको चौथो दिन हिमपात भएसँगै दोलखालाई पर्यटन भित्र्याउन थप राहत मिलेको छ । करिब दुई साता अघि मंसिरको अन्तिम साता परेको हिउँ पग्लनु अगावै पुनः हिमपात भएको हो । हिमाली जिल्ला दोलखाको मुख्य ५ ठाउँमा पुनः शुक्रबार र शनिबार दिनभर हिमपात भइरहेको छ। अघिपछि सुनसान जस्तै देखिने शैलुङ र जिरीमा भ्रमण वर्ष सुरुहुने बित्तिकै परेको हिउँले पर्यटकको बाक्लो चहलपहल देखाएको छ । दोलखा जिल्लाको ४ स्थान कालिञ्चोक,शैलुङ,गौरीशंकर,जिरीका उच्च ठाउँमा बाक्लो हिमपात भएको छ।

 चिसोका कारण घर बाहिर निस्केर काम गर्ने वातावरण नभएको कालिन्चोकका स्थानीय होटल व्यवसायीहरु बताउँछन् । उच्च ठाउँमा परेको हिमपातले तल्लो भेगमा पनि एक्कासि चिसो बढेको छ । दोलखा सदरमुकाम चरिकोट आसपासमा शनिबार  पनि सामान्य झरी परिरहेको हुँदा चिसो थप बढेको छ । यता दोलखाको प्रशिद्ध कालिन्चोक क्षेत्रमा हिउँ खेल्ने आन्तरिक पर्यटकको वृद्धि भएपछि सो ठाउँका होटल भरिभराउ भएका छन् ।

सदरमुकाम चरिकोट बजारमा पनि शुक्रबार परेको हिउँका कारण स्थानीय होटलहरु सँगै सडकमा ओहोरदोहोर गर्ने सवारीसाधन र घुम्न आउने मानिसको चहलपहल बाक्लो देखिएको छ । दोलखा जिल्लामा भ्रमण बर्ष २०२० लाई सफल पार्न र धेरै पर्यटक भित्र्याउन दैनिक महोत्सव लगायत बिभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् ।