साग को दोस्रो दिन विभिन्न खेलमा प्रतिस्पर्धा हुँदै

साग को दोस्रो दिन विभिन्न खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ - नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ । पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन । खो खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । साग अन्तर्गत कराते सोमबारबाट सुरु हुनेछ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।