साग खेलकुदको भव्य उद्घाटन साँझ ५ बजे हुँदै

साग खेलकुदको भव्य उद्घाटन साँझ ५ बजे  हुँदै

काठमाडौँ - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (सोमबार) साँझ काठमाडौँमा हुदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन हुन लागेको हो । करिब ३ घण्टाको सागको उद्घाटन सत्रमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।

प्रस्तावित तालिका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी साँझ ५ बजे दशरथ रंगशालामा आईपुग्ने कार्यक्रम रहेको छ । लगत्तै आयोजकको समारोह समितिले पुष्प गुच्छा सहित राष्ट्रपतिको स्वागत गर्नेछ । त्यसपछि राष्ट्रपतिलाई विशेष मञ्चमा लगेर राखिनेछ । र राष्ट्रिय धुन सहितको बाजा बजाईनेछ ।

राष्ट्रपतिको आसनसंगै मार्चपासको कार्यक्रम सुरु हुनेछ । सागमा सहभागी सातै देशका खेलाडी, रेफ्री र प्रशिक्षक मार्चपासमा सहभागी हुनेछन् । मार्चपासको समापनसंगै लेजर लाईटको प्रर्दशनी हुनेछ ।

प्रकाश प्रर्दशनीको समापनसंगै मन्तव्यको कार्यक्रम सुरु हुनेछ । सुरुमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले विशेष मन्तव्य राख्नेछन् ।

सागको मुल आयोजक समारोह समितिका संयोजक तथा युवा तथा खेलकुद मन्त्रीले सागको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्तव्य राख्नेछन् । लगत्तै राष्ट्रपतिबाट उद्घाटन सम्बोधन हुनेछ । सम्बोधनको क्रम सकिएसंगै सातै प्रदेशमा लगिएको टर्च लाईटको भिडियो देखाईनेछ ।

लगत्तै खेलाडीले टर्च लाईन समातेर दशरथ रंगशालाको परिक्रमा गर्नेछन् । कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले दिप प्रज्वलन गर्नेछन् । लगत्तै सागको झण्डा सहित मार्चपास र झण्डोत्तलनको कार्यक्रम राखिएको छ ।