त्रेतायुगीन क्षणलाई जीवित गर्दै छन् मिथिलावासी

त्रेतायुगीन क्षणलाई जीवित गर्दै छन् मिथिलावासी

काठमाडौँ - जनकपुरधाममा भोलि हुने प्रतीकात्मक भगवान् सीताराम विवाह महोत्सवको रौनकता छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । 

विवाह महोत्सवका लागि जानकी मन्दिरलाई सिङ्गारिनुका साथै परिसरमा निर्माण गरिएको विवाह मण्डप श्रद्धालुको केन्द्रबिन्दु बनेको छ । यसपटक भारतको अयोध्याबाट आएको प्रतीकात्मक राम जन्तीलाई मिथिलावासीले अवध नगरियासँ आयल बरियातिया बड़ सोहावन लागय ९अयोध्याबाट आएको जन्ती अत्यन्तै शोभनीय लाग्दैछ० भन्ने गीतले विभिन्न स्थानमा गरिरहेको स्वागत गानले त्रेतायुगको क्षणलाई जीवित गर्दै श्रद्धा व्यक्त गरिरहेका छन् । 

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् । मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभा यात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । महोत्सवमा बिदाइको क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली विदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाह झैँ हुने गरेको छ । अयोध्याबाट जन्तीका रूपमा आएका प्रतीकात्मक दशरथका भूमिकामा रहेका कन्हैया दास वर्तमान समयमा पनि सीतारामको विवाहको आयोजनाले हिन्दू संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको बताउनुहुन्छ ।

सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुुकरणीय रहेको उहाँ बताउनुहुन्छ । मिथिला माहात्म्यका अनुसार मर्यादा पुरुषोत्तम भगवान्ले रामले मिथिला भूमिलाई नमस्कार गरेको उल्लेख छ ः

         सर्वदेवमयः साक्षात् यस्मां वसति राघवः

मिथिला सर्वतीर्थेषु लोकेषु च गरियसी

यस्मां श्री जानकी जाता ख्याता च भुवनत्रये 

अर्थात् मिथिलालाई सर्वदेवमय स्वयम् रामचन्द्र नमस्कार गर्दछन् । अतः मिथिला सर्वतीथृमा श्रेष्ठ छ, यसै भूमिमा जगत्जननी जानकी (सीता) उत्पन्न भइन् र तिनै लोकमा विख्यात भइन् ।

कल्याणस्वरूप, सत्यस्वरूप भगवान्का रूपमा पुजिने राम र सत्यस्वरूपा देवीका रूपमा पुजिने सीता पुण्यदायक र मोक्षदायक शब्द भएकाले पनि श्रद्धालुहरू सीताराम विवाहोत्सवमा सहभागी भई वैवाहिक क्षणको अलौकिक दृश्य हेर्दै जय जयकार गर्दछन् । मैथिल संस्कृतिअनुरूप हुने गरेको वैवाहिक उत्सवमा श्रद्धालु आनन्द विभोर हुँदै भगवान्लाई मानवीकरण गरी श्रद्धा व्यक्त गर्नु उत्सवको विशिष्ट पक्ष मानिएको छ ।

भागवत् पुराणका अनुसार राम परब्रह्मा हुन् भने सीता लक्ष्मीको अवतार हुन् । मानव शिक्षाजस्तो सदाचार, सत्य, न्याय, धर्मपालन, न्याय र मानव कल्याणका लागि आफैँ उदाहरण बनी देखाउन त्रेतायुगमा मानव अवतार लिए ।

महोत्सवमा जानकी मन्दिर परिसरमा हुने गरेको वैवाहिक क्षणअन्तर्गत कन्यादान विधिको गीतका बेला जनकका भूमिकामा रहेका रामतपेश्वर दास र सुनयनाका भूमिका रहेका निर्मला देवीको कारुणिकताले सहभागीहरूसमक्ष त्रेतायुगीन विवाहोत्सवको क्षण प्रकट भएको अनुभूति हुने गरेको छ ।