खेलकुद

खेल क्षेत्र विकासका लागि सुझाव दिन विज्ञसँग मन्त्रीको आग्रह


काडमाडौँ – युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि विज्ञहरुसँग आवश्यक सल्लाह–सुझाव माग्नुभएको छ । आज ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफुले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालय भन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गर्नुभएको हो ।

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यसनिम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताउनुभयो । खेलले शान्ति र विकासको कुरा अगाडी बढाइरहेको पनि उहाँले बताउनुभयो । उहाँले कोरोनाको प्रोटोकललाई मान्दै सुरक्षित भएर खेल क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।