देश

सुनधारास्थित सीटीसी मल लिलामी हुने


काठमाडौँ — सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ । ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ ।

कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो । कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो ।