रोजगार

सरकार ! बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य कहिले ?

कहिले सकिएला ‘म्यानपावर युग’ ?


काठमााडौँ — देशमा रोजगारको अभाव हुँदा दिनहुँ १२ देखि १५ सय युवाहरु जिविकोपार्जनकै लागि विदेशिन बाध्य छन् । कोरोना कहरका बीच पनि परिवारलाई छोडेर विदेशिन बाध्य कतिपय युवाहरु उतै अलपत्र पर्ने गरेका छन् ।

अधिकांश नेपाली युवा सुन्दर सपना बोकेर बिदेशिने गरेका छन् । बिदेसिनु उनीहरूको रहर नभई बाध्यता नै बनेको छ । लाखौँ नेपाली युवाहरु दैनिक चलाउन र परिवारको हातमुख जोड्नकै लागि विदेश जान बाध्य छन् । घर परिवार छोडेर धन कमाउने आशमा विदेशिनेहरुको पीडा कति छ भन्ने कुरा यो दृश्यले प्रष्ट पार्छ ।

अझै पनि कोरोना संक्रमण एकपछि अर्को गर्दै नयाँ नयाँ भाइरस आइरहेको छ । कतिपय देशमा त अझै पनि महामारीले आतंक नै मच्चाईरहेको छ । नेपालमा पनि यसको त्रास बढिरहेको छ । तर, पनि यस्तो परिस्थितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारमा जानेहरुको संख्या उलेख्य छ । महामारीको बेला पनि नेपालमा रोजागारको उचित व्यवस्था नहुँदा परिवारको खुशीको लागि भएनी विदेश जान बाध्य भएको दुखेसो उनले पोखे ।

परिवारको साथ छोडेर विदेश जानुपरेको भन्दै विमानस्थलमा सरकारसंग आक्रोश पोख्नेको पनि कमी छैन । बर्षौ परदेशमा बिताएर अब कहिल्यै विदेश नजाने भन्दै स्वदेश फर्किएका कतिपय भने सरकारले रोजगारको सिर्जना गरिदिएको भए परिवारलाई छोडेर जानु पर्ने स्थिति नआउने बताउछन् ।

कोरोना संक्रमणका कारण देशमा धेरैको रोजगारी खोसिएको छ । रोजगारको नयाँ सम्भावना पनि देखिएको छैन । कोरोना कहरबाट कहिले छुट्करा पाउने हो थाहा छैन् । तर, पनि युवाहरु जोखिम मोलेर आफ्नो देश छोड्न बाध्य छन् ।

यता नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले श्रमजीवीहरुका लागि नेपालको कम्युनिष्ट सरकारले अपेक्षित काम गर्न नसकेको स्वीकार गर्नुपर्ने बताउछन् । उनले खाडी मुलुकमा काम गर्ने श्रमजीवीहरुको लागि देश भित्रै रोजगारीको व्यवस्था गर्नको लागि गम्भिर बन्नुपर्ने बताउछन् ।

कम्युनिष्ट सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएको थियो । तर ओली सरकार आफैलाई बचाउन नसकेर बहिर्गमित बनेको छ । सरकार चलाउनेहरू यहीँ रोजगारी सिर्जना गर्ने भन्दा पनि युवाशक्तिलाई विदेश पठाएर रेमिट्यान्स खाएर बस्ने मानसिकताबाट माथि उठ्न सकेका छैनन् ।