अर्थनीति

विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति, एक वर्षमा १० करोड डलर सम्पत्ति वृद्धि


काठमाडौँ — नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् । उनी सन् २०२१ मा २१४१औं स्थानमा थिए ।

एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको छ । म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो ।

चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिबाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड-१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक रहेको सो म्याग्जिनले जनाएको छ ।