Breaking

लेटाङ घटना, प्रहरी जवान उर्मिला श्रेष्ठको गोली प्रहारबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्ट


काठमाडौँ — चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ । अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ ।सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ । हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो । तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको गोलीसँग म्याच हुन नसकेको स्रोतको भनाइ छ। यसले गोली गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतले जनाएको छ ।

‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन । प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।