Uncategorized

रिकन्डिसन अटो व्यवसायी सहयोग गर्न सरकार तयार : भौतिक मन्त्री यादव


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडि गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराउनुभएको छ । शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउँने गरेको कारणले दुर्घटना हुने गरेको बताउनु भयो ।

सडकमा गुड्ने गाडिको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताउनुभयो । रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराउनुभएको छ । उहाँले रिकन्डिसन अटो व्यवसायीलाई आफुले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराउनुभयो ।

उहाँले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठुला शहरहरुमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गर्नुभयो । व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उहाँले व्यवसायीहरुलाई छलफलमा आउन पनि आग्रह गर्नुभयो ।