समाचार

यी ठाउँहरुमा कुनैपनि बेला इन्टरनेट सेवा बन्द हुन सक्ने


काठमाडौँ – इन्टरनेट सेवा प्रदायक संघ (आईएसपीएन) ले देशका विभिन्न ठाउँहरुमा जुनसुकै बेला पनि इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी गैरकानुनी ढंगले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काटेकाले इन्टरनेट सेवा बन्द हुनसक्ने भएको आईएसपीएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, दुबही, लहानर डोटीमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुन सक्नेछ ।

ती स्थानमा ब्याकअप सिस्टमको प्रयोग भइरहेको र त्यसले धान्न छाडेपछि कुनैपनि समयमा सेवा अवरुद्ध हुन सक्ने संघको भनाइ छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरू पोल भाडा तिर्न तयार रहेको र त्यसका लागि समितिको प्रतिवेदनअनुसार हुनुपर्ने स्पष्ट गरेको छ।