देश

मोरङमा बम विस्फोट


काठमाडौँ — मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात बम विष्फोट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फोटको आवाज सुनिएको हो । सोही गाँउपालिकाको बर्खेमा बिहीबार बिहानीपख बमजस्तो शंकास्पद वस्तुसमेत फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानमा राति बम विष्फोट गराइएको हो । स्थानीय सरस्वती आधारभूत विद्यालय नजिकको क्षेत्रमा प्रेसर कुकर भेटिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । विद्यालयबाट करिब ४० मिटरको दुरीमा प्रेसर कुकरमा खतरा संकेतसहित विद्युतीय तारहरू निकालिएको अवस्थामा सडकमा भेटिएको उनको भनाइ छ । घटनास्थललाई घेरबार गरी सुरक्षित राखिएको र नेपाली सेनाको बम निष्क्रिय टोली त्यसतर्फ जाँदै गरेको बताइएको छ ।