कर्णाली

प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु गरिने


काठमाडौँ— कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण तथा डाइलासिस सेवा विस्तार गरिने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल कर्णाली प्रदेशले मृगौला विरामीहरुको उपचारका लागि सेवा दिने उद्देश्यसहित सहकार्य अघि बढाउन लागेको हो ।

विहिबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्दै यसै आर्थिक वर्षबाट सुर्खेतस्थित प्रदेश अस्पतालबाट मृगौला प्रत्यारोपण, डाइलासिसका सेवाहरु प्रदान गरिने बताएका छन् ।

प्रदेश अन्तर्गत रहेका अन्य अस्पतालहरुमा पनि उक्त सेवा सञ्चालन गर्दै लैजाने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका चिकित्सक डा. अच्युत खनालले बताउनुभयो । समझ्दारी अनुसार उपचारका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम र अध्यापनको व्यवस्थापन गर्नेछ ।