समाचार

पहिरोले तानसेन–तम्घास सडक अवरूद्ध


काठमाडौँ – मंगलबारदेखि आएको वर्षापछि पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरूद्ध भएको छ ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको हो ।

बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।

हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ । पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।