Breaking

न्युयोर्कमा सांसद पदमा नेपाली मूलकी उम्मेदवार विजयी


काठमाडौँ — अमेरिकास्थित न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवारको जित भएको छ ।

डेमोक्रेटिक उम्मेदवार ६६ वर्षीय केभिन काहिललाई ४१ वर्षीया सराहना श्रेष्ठले हराएकी हुन् ।

चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिया काहिलले २३ वर्षदेखि लगातार र सन् १९९३ मा गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गरिरहेका थिए । यसपटक उनलाई पराजित गर्ने श्रेष्ठ सन् २००१ मा अध्ययनका लागि न्युयोर्क पुगेकी थिइन् भने सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

सात हजार ७ सय २ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन् । पराजित काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए । अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने र श्रेष्ठको राखिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।