Breaking

त्रिभुवन विमानस्थलमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईए देशको पुरानो ऐतिहासिक विमानस्थल हो।

टीआईए सञ्चालनमा आएको झन्डै ७० वर्षपछि देशभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ ।

देशभित्र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । झन्डै २८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बहस पनि भइरहेको छ । तर देशको राजधानीमा रहेको पुरानो ऐतिहासिक टीआईए पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि हवाई यात्रुको चाप धान्न हम्मे हम्मे छ ।

भू–धरातलीय स्वरूप, मनसुनी प्रभाव तथा एयरलाइन्सको स्लट व्यवस्थापन प्रभावकारी नहुँदा टीआइईमा बारम्बार हवाई ट्राफिक जाम हुने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को (होल्ड) लगाउने गरेका छन् । अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेलाबेलामा होल्ड तथा जहाज अन्यन्त्र डाइभर्ट हुने गरेका छन् ।

त्यसो त टीआईएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टीआईए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एअरलाइन्सले पहल नगरेका भने हैनन् । तर, टीआईएको समस्या जहाँको तहीँ छ । सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन् ।

९२ लाख यात्रु क्षमताको टीआईएको क्षमता अभिवृद्धि र एयर ट्राफिक कन्ट्रोल र स्लट व्यवस्थापनमा जुटिरहेकै देखिन्छ । तथापि, टीआईएमा जहाज होल्ड हुने र उडान समयावधि तलमाथि हुने समस्या समाधान हुन सकेको छैन । अहिले हवाई ट्राफिक जामले जहाज होल्ड हुनाका साथै डाइभर्ट गर्नुपर्ने विमानस्थलको बाध्यता छ ।

यसमा विशेषगरी हवाई यात्रुले त्रसित र जोखिमपूर्ण हवाई यात्रा गर्नुपर्ने बाध्यता बढेको छ । टीआईएमा बारम्बार हवाई ट्राफिक जाम हुनेबारे प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम विशेषगरी मौसम र स्लट व्यवस्थापन प्रभावकारी हुन नसक्दा एयर ट्राफिक जाम हुने गरेको अनुभव सुनाउछन् । ‘कहिलेकाहीँ डेढ घण्टासम्म हामी आफैँ पनि एयर ट्राफिक जाममा परेको अनुभव छ, मौसमी कारण होस् या भिजिबिलिटी कमजोर हुँदा होस् जहाज अवतरण उडानमा समस्या हुने गर्दछ,’ उनले भने ।

मनसुनको समयमा टीआईएमा बढी जहाज होल्ड हुने गरेका छन् । विदेशी एयरलाइन्स पनि सहज समयमा मात्रै उडान भर्न चाहने अर्थात् दिउँसोको समय उनीहरूको रोजाइ पर्ने भएकाले पनि स्लट व्यवस्थापनमा चुनौती देखिएको पूर्वमहानिर्देशक गौतमको भनाइ छ ।

आन्तरिक उडानमा पनि एअरलाइन्स प्रायः एकै समयमा स्लट लिने भएकाले उडान चाप हुने गरेको छ । प्राधिकरणले टीआईए २४ घण्टा र आन्तरिक उडान १८ घण्टा अर्थात् आन्तरिक उडान पनि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

टीआईएको अहिलेको दुवैतर्फको टर्मिनल भवन साँघुरो रहेको र कतिपय प्राविधिक उपकरण व्यवस्थापन हुन नसक्दा पनि हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ ।

वायु सेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा पनि मौसम खराबीका साथै स्लट व्यवस्थापन राम्रो नभएकाले हवाई ट्राफिक जाम बढेको बताउछन् । उनले भने, ‘विमानस्थलको स्लट क्यापासिटी कम छ, जहाज थपिइरहेका छन् तर विमानस्थल विस्तार भएको छैन, एक मात्रै धावनमार्गमा सबै जहाज एक समय उडान भर्न चाहन्छन्, यसले पनि चाप बढेको देखिन्छ ।’

मौसमी कारण पनि उडान तालिकाअनुसार जहाज नउड्दा हवाई चाप बढाएको छ। त्यस्तै आइएफआर भिजिबिलिटीको मापदण्डअनुसार एयिरलाइन्सले उडान गर्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको छ ।

क्षणभरमै मौसम परिवर्तन हुने भौगोलिक अवस्थितिले पनि जहाज होल्ड हुनुपर्ने बाध्यता थपिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अन्तर्राष्ट्रिय मात्र नभइ आन्तरिक उडान पनि समय समयमा होल्ड हुने गरेका छन्। उनको अनुभवमा पछिल्लो हप्ता पोखरा, भैरहवालगायत गन्तव्यबाट काठमाडौँ आउने जहाज ४५ मिनेटदेखि एक घण्टा ट्राफिक जाममा परेका थिए । आन्तरिक जहाज पनि आइएफआर उडानमा गएपछि स्वाभाविक रूपमा जाममा पर्ने गर्छन्।

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमको भनाइमा एक जहाज होल्ड हुनासाथ त्यसले आउँदै गरेका सबैजसो जहाज होल्ड हुन्छन्। जसले उडानको तयारीमा रहेका जहाजलाई पनि असर गर्छ। त्यही कारण उडान ‘डिले’ हुने गरेको छ।

एकमात्रै धावनमार्गमा प्यारालल ट्याक्सी वे पूर्ण नभएको तथा जहाजको सङ्ख्या बढिरहेकाले पनि हवाई ट्राफिक जाम हुने गरेको एयरलाइन्सहरूको बुझाइ छ।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा टीआईएमा दोस्रो टर्मिलन भवन बनाउने योजना समेटेको छ । विमानस्थलको क्षमता विस्तारका लागि विभिन्न आयोजना पनि सञ्चालन भइरहेका छन्।

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा अहिलेको टीआईएको चाप व्यवस्थापन हुने भनिए पनि वार्षिक हवाई यात्रु वृद्धि दर हेर्दा अहिलेको पूर्वाधारले नधान्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउछन्। उनले ९२ लाख यात्रु क्षमताको टीआईएको ‘अकुपेन्सी फुल’ भइसकेको बताए।

नेपालको हवाई यात्रु सङ्ख्या हरेक वर्ष १० लाखका दरले बढिरहेको छ। ‘एअर ट्राफिक ग्रोथ’ वार्षिक १० प्रतिशतको छ । एसिया प्रशान्त क्षेत्र तथा छिमेकी देश भारत र चीनको हवाई यात्रु सङ्ख्या पनि १० प्रतिशत हाराहारीको वृद्धि छ।

अबका २० वर्षमा संसारको हवाई यात्रु सङ्ख्या अहिलेको चार अर्बबाट दोब्बर वृद्धि भइ आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । ‘नेपालले वार्षिक तीन करोड हवाई यात्रु धान्नुपर्ने बाध्यात्मक अवस्था छ, अर्को विमानस्थल बनाउन सकेनौँ भने अब हाम्रो आकाश बन्द हुने अवस्थामा छ’, महानिर्देशक अधिकारीले भने।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० एअरलाइन्स तथा अन्तराष्ट्रिय उडानमा दुई नेपालीसहित २४ वटा एअरलाइन्सले उडान भर्दै आएका छन् ।