गण्डकी प्रदेश

गण्डकी प्रदेशमा माओवादीको सुधार


काठमाडौँ — गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, अघिल्लो पटक जितेका थुप्रै पालिकाको नेतृत्व गुमाउन पुगेको छ । गण्डकीका ८३ पालिकाको नतिजा आइसकेको छ । अब कास्कीको पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ । ८३ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेसले ३५ पालिकामा खुम्चिएको छ ।

नतिजा आउन बाँकी रहेको व्यास नगरपालिकामा कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् । नेकपा एमालेले अघिल्लो भन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ । अघिल्लो पटक ३४ पालिका प्रमुख जितेकामा अहिले ३५ पु¥याएको छ । एमालेको प्रभाव भूमि भनेर चिनिएको कास्की जिल्लामा पनि यसपटकको नेकपा एमालेले हार व्यहोरेको छ । ०७४ सालको निर्वाचनमा एमालेले कास्कीका ५ पालिकामध्ये ४ पालिका प्रमुखसहित सबै पालिका उपप्रमुख जितेको थियो ।

तर, यसपटक एमालेले माछापुच्छ्रे र मादी गरेर २ पालिका गुमाइसकेको छ । पोखरा महानगरपालिकामा पनि आइतबार दिउँसो ७३ प्रतिशत गणना हुँदासम्म एमाले उम्मेदवार तीन हजार मत अन्तरले पछाडि छन् । यहाँ एमालेबाटै अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । स्याङ्जाका ११ पालिकामध्ये अघिल्लो पटक नेकपा एमालेले ९ पालिकामा जित निकालेको थियो । तर, अहिले एमालेले ६ पालिकामा सीमित हुँदा नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ । मुस्ताङमा पनि नेकपा एमालेले राम्रो सुधार गरेको छ । अघिल्लो पटक दुई पालिकामा खुम्चिएको नेकपा एमालेले यसपटक ४ पालिकामा जित निकालेको छ । मुस्ताङमा ५ गाउँपालिका छन् ।

म्याग्दी जिल्लामा पनि एमालेले सुधार गरेर ४ पालिकामा जित निकालेको छ । कांग्रेसले दुई पालिकाको नेतृत्व जितेको छ । बागलुङमा भने नेकपा एमालेले अघिल्लो पटकको विरासत गुमाएको छ । ०७४ सालमा बागलुङमा नेपाली कांग्रेस र नेकपा एमालेले ४–४ वटामा जितेका थिए । तर, यसपटक नेपाली कांग्रेसले ६ पालिका जित्दा नेकपा एमाले एउटामा मात्र सीमित भएको छ । बागलुङमा नेकपा माओवादी केन्द्रले एक र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहको नेतृत्व जितेको छ । अघिल्लो पटक लमजुङमा ५ पालिका जितेको नेकपा एमालेले यसपटक एउटा पालिका गुमाएको छ । यसपटक ८ पालिकामध्ये नेकपा एमाले र कांग्रेसले समान ४–४ पालिका लमजुङमा जितेका छन् ।