Breaking

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं — प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था छ । सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए । ३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।