Breaking

कैलालीको ३ पालिकामा रेशम चौधरी पार्टीको अग्रता


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् ।

टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् । उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले ११८७ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेकी माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएकी छन् ।

जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मत पाएका छन् । अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् । भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।