देश

‘कबड्डी ४’ले पाँच दिनमै कमायो १० करोड रुपैयाँ


काठमाडौँ — कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।

सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ । छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’को कुल ग्रस कमाइ ९ करोड रुपैयाँ छ ।

दोस्रो साता कमाइको स्थिर ट्रेन्ड कायमै रहे ‘कबड्डी ४’ले छक्कापञ्जा तीनको कीर्तिमानलाई तोड्न सक्नेछ । तर दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती हुनसक्छ । तर विश्लेषकहरु यो फिल्मको लाइफटाइम कलेक्सन ‘छक्कापञ्जा ३’भन्दा बढी हुने अनुमान गर्छन् । बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ । मोफसलका सिंगल स्क्रिनमा विकडेजमा अकुपेन्सी ड्रप भए पनि मल्टिप्लेक्स चाहिं अकुपेन्सी ह्वात्तै घटिसकेको छैन ।