Uncategorized

आरजुको अभिव्यक्तिमाथि आयोगको छानबिन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ ।
आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ आयोग स्रोतले भन्यो, ‘आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने र सोधपुछ गरिनेछ ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन् ।

त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन दिएकी थिइन् ।