Breaking

आजको मौसम : देशका धेरै स्थानमा वर्षाको सम्भावना

बाढी र पहिरोको खतरा


काठमाडौँ – अहिले (शुक्रबार बिहान) पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा वर्षा होला कि नहोला ?

मौसमविद् सजिना शाक्यका अनुसार बागमती प्रदेशअन्तर्गत आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा मध्याह्नपछि हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको उनले बताइन्। काठमाडौंमा अहिले बिहान भने घाम लागिरहेको छ ।
माैसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।